काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले सरकारबाट ठूलो अपेक्षा गरेका नागरिक अहिले निराशा र असन्तुष्टितर्फ धकेलिएको टिप्पणी गरेका हुन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि देखिएको जनअपेक्षा क्रमशः निराशामा बदलिएको बताए। उनका अनुसार सरकारको कार्यशैलीप्रति जनस्तरमा प्रश्न उठ्न थालेको छ।
उनले सरकार परिवर्तनमार्फत नयाँ आशा बोकेका नागरिक अहिले आफूहरूले गरेको निर्णयप्रति पुनर्विचार गर्न थालेको दाबी गरे। रास्वपाका समर्थक र शुभेच्छुकहरूबाट समेत असन्तुष्टि र पश्चातापका अभिव्यक्ति आउन थालेको उनको भनाइ थियो।
विप्लवले परिवर्तनको एजेन्डा बोकेर सत्तामा पुगेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। जनताले खोजेको वैकल्पिक राजनीतिक अभ्यास र सुशासनको अनुभूति दिलाउन सरकार असफल भएको उनको दाबी छ।
उनले विशेषगरी युवा पुस्तामा निराशा बढ्दै गएको उल्लेख गर्दै राजनीतिक परिवर्तनप्रतिको विश्वास कमजोर बन्दै जानु मुलुकका लागि चिन्ताको विषय भएको बताए।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया