काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेमाथि तीखा टिप्पणी गरेका छन्। उनले अरूलाई पीडा पुग्दा कठोर देखिने तर आफ्नै आलोचना हुँदा भावुक बन्ने प्रवृत्ति पाण्डेमा देखिएको आरोप लगाएका हुन्।
सामाजिक सञ्जालमार्फत सांसद पाण्डेले आँसु पुछिरहेको तस्बिर सार्वजनिक गर्दै बस्नेतले हजारौँ गरिब, सुकुम्बासी र सर्वसाधारणलाई विस्थापित बनाउने कार्यमा संलग्नहरू अहिले सामान्य आलोचनासमेत सहन नसकी भावुकता प्रदर्शन गरिरहेको टिप्पणी गरेका छन्।
उनले जनताको घरबार उजाडिँदा कठोर बनेर प्रस्तुत हुने तर आफ्नै व्यवहारमाथि प्रश्न उठ्दा आँसु बगाउने शैलीलाई ‘दोहोरो चरित्र’को संज्ञा दिएका छन्। बालेन्द्र शाहको नाम र प्रभावको आडमा आफूलाई शक्तिशाली शासक ठान्ने मानसिकता लोकतान्त्रिक संस्कारअनुकूल नभएको उनको भनाइ छ।
बस्नेतले जनताले व्यक्तिको भावुक अभिव्यक्ति वा अभिनयभन्दा पनि उसको कार्यशैली, क्षमता र नागरिकप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। शासनको वास्तविक परीक्षा आँसु बगाउने क्षमताले नभई जनताको पीडा कम गर्ने क्षमताले हुने उनको धारणा छ।
उनले समयमै यस्ता प्रवृत्तिलाई नचिने भविष्यमा समाजले अझ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्।
सांसद पाण्डेमाथिको टिप्पणी हालै गोकर्णेश्वर क्षेत्रमा बागमती करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सैनिक अधिकारीसँग भएको विवादपछि आएको हो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भएको थियो।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया