एजेन्सी । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मिडियामार्फत सार्वजनिक सम्बोधन गरेपछि बंगलादेश सरकारले कडा आपत्ति जनाएको छ। ढाकाले भारतीय भूमिबाट यस्तो कार्यक्रम हुन दिनुले आफ्नो सार्वभौमिकता र राष्ट्रिय भावनामाथि चोट पुगेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेको हो।
बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतमा आयोजित उक्त भर्चुअल पत्रकार सम्मेलनमार्फत शेख हसिना र उनका समर्थकहरूले बंगलादेशको राज्य व्यवस्था तथा जनताको भावनामाथि प्रहार गरेको आरोप लगाएको छ। मन्त्रालयले यसअघि नै यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेको भए पनि त्यसलाई बेवास्ता गरिएको जनाएको छ।
विदेश मन्त्रालयका अनुसार, जुलाई आन्दोलनको दोस्रो वार्षिकोत्सव मनाइरहेका बेला भारतीय भूमिबाट हसिनाले दिएको सार्वजनिक अभिव्यक्ति बंगलादेशको सार्वभौमिकतामाथिको हस्तक्षेप र आन्दोलनका शहीदहरूप्रतिको अपमान हो। सरकारले बंगलादेश फेरि विगतको राजनीतिक अवस्थातर्फ नफर्कने र मानवताविरुद्धका अपराधमा दोषी ठहरिएकाहरूलाई देशको राजनीतिमा पुनः स्थान नदिने स्पष्ट सन्देश दिएको छ।
ढाकाले सन् २०१३ मा भएको सुपुर्दगी सन्धिअनुसार शेख हसिनालाई बंगलादेश बुझाउन भारतसँग पटक–पटक आग्रह गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाएको छ। बरु उनलाई सार्वजनिक रूपमा बोल्न दिइनुले द्विपक्षीय सम्बन्धलाई कमजोर बनाउने चेतावनी पनि दिएको छ।
यता, भारतले भने उक्त पत्रकार सम्मेलनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कार्यक्रम निजी संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त विचार वा अभिव्यक्तिलाई भारत सरकारले समर्थन नगर्ने बताएका छन्।
यसैबीच, पत्रकार सम्मेलनमा बंगलादेशका पूर्वकप्तान तथा चर्चित क्रिकेटर शकिब अल हसन सहभागी भएपछि उनको घरमा पेट्रोल बम आक्रमण भएको दाबी अवामी लिगले गरेको छ। पार्टीले घटनालाई आफ्ना नेता–कार्यकर्तामाथि भइरहेको राजनीतिक प्रतिशोधको निरन्तरता भन्दै कडा निन्दा गरेको छ।
अवामी लिगका अनुसार, पत्रकार सम्मेलनअघि नै केही राजनीतिक दलहरूले सञ्चारमाध्यमलाई कार्यक्रमसम्बन्धी समाचार प्रकाशन नगर्न चेतावनी दिएका थिए। पार्टीले लोकतान्त्रिक अधिकारमाथि आक्रमण भइरहेको आरोप लगाएको छ।
उता, बंगलादेश सरकारले भने अदालतको आदेश उद्धृत गर्दै शेख हसिनासम्बन्धी अभिव्यक्ति वा सामग्री प्रसारण नगर्न सञ्चारमाध्यमलाई चेतावनी दिएको छ। सरकारले आदेश उल्लङ्घन गर्ने सञ्चारमाध्यम वा व्यक्तिमाथि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
गत वर्ष सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी शेख हसिनालाई बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ। उनले पत्रकार सम्मेलनमार्फत आफू आगामी डिसेम्बरसम्म बंगलादेश फर्कने योजना रहेको बताएका भए पनि मिति भने सार्वजनिक गरेकी छैनन्।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया