काठमाडौं । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकहरूको नयाँ तलबमान लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी संशोधित तलब संरचना सार्वजनिक गरेको हो।
नयाँ व्यवस्था अनुसार नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। सुरुवाती तलबमा लागू हुने ग्रेड रकम जोडिएपछि उक्त तलबमान निर्धारण भएको हो।
त्यसैगरी रथीको मासिक तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ। सहायक रथीले ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीले ७२ हजार ८ सय ७६ रुपैयाँ तथा प्रमुख सेनानीले ६९ हजार ९ रुपैयाँ मासिक तलब पाउनेछन्।
अधिकारी तहमा सेनानीको तलब ६७ हजार ९ सय ७ रुपैयाँ, सह–सेनानीको ६२ हजार ३ सय १५ रुपैयाँ, उप–सेनानीको ५९ हजार ५ सय ३७ रुपैयाँ र सहायक सेनानीको ४८ हजार ५८ रुपैयाँ कायम गरिएको छ।
जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारले ४९ हजार ६ सय ७ रुपैयाँ, सुवेदारले ४७ हजार १ सय १४ रुपैयाँ र जमदारले ४३ हजार ३ सय ७२ रुपैयाँ मासिक तलब पाउने भएका छन्।
अन्य सैनिक कर्मचारीमध्ये हुद्दाको तलब ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ निर्धारण गरिएको छ।
सेनाको आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ। त्यस्तै, रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ कायम गरिएको छ भने विभिन्न श्रेणीका फलोअर्सको तलब जिम्मेवारी र श्रेणीअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।
विमान सम्भार समूहका प्राविधिक सैनिकको तलब पनि सोहीअनुसार परिमार्जन गरिएको छ। यस समूहमा पाइलट उपरथीको मासिक तलब ९० हजार ५ सय ९ रुपैयाँ पुगेको छ।
सरकारले संशोधित तलबमानसँगै लागू हुने ग्रेड रकम र कायम भएको तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत साउन १ गतेदेखि उपलब्ध गराउने निर्णय गरेको छ। संशोधित तलब संरचना नेपाली सेनासँगै निजामती कर्मचारी, नेपाल प्रहरी र शिक्षकका लागि पनि लागू गरिएको सरकारले जनाएको छ।



प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार











प्रतिक्रिया