काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी ‘जयनेपाल पार्टी’ गठन अभियानमा लागेका नेता डा. धवलशमशेर राणाले नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने आफ्नो अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्।
पार्टीको नाम सार्वजनिक भएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन र संसदीय प्रक्रियामार्फत भए पनि हिन्दु राष्ट्र पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
राणाले नेपालका अधिकांश नागरिक हिन्दु धर्म र ओमकार परिवारसँग आबद्ध रहेकाले धर्मनिरपेक्षताको औचित्यमाथि प्रश्न उठाउँदै भने, ‘देशको बहुसंख्यक जनताको भावना र पहिचानलाई बेवास्ता गर्न मिल्दैन। सडक संघर्ष होस् वा संसदीय प्रक्रिया, हामी हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यमा दृढ छौँ।’
उनले राजासहितको हिन्दु राष्ट्र, राष्ट्रिय एकता र स्वदेशी स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत देशलाई समृद्ध बनाउने आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको बताए। यही उद्देश्यका साथ जयनेपाल पार्टीमा आबद्ध हुन उनले सबैलाई आह्वान गरे।
स्थानीय तहदेखि नै जनमतलाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै राणाले उम्मेदवार छनोट पनि जनताको इच्छाअनुसार हुने बताए। ‘हाम्रो पार्टीमा कसैको व्यक्तिगत प्रभाव वा गुटको आधारमा निर्णय हुँदैन। जनताले योग्य ठानेकै व्यक्तिलाई उम्मेदवार बनाइनेछ,’ उनले भने।
नेपाल सबै धर्म, संस्कृति र समुदायको साझा मुलुक भएको उल्लेख गर्दै उनले कुनै पनि धर्म वा समुदायमाथि विभेद गर्ने उद्देश्य नरहेको स्पष्ट पारे। उनका अनुसार हिन्दु राष्ट्रको अवधारणा बहुसंख्यक नागरिकको आत्मसम्मान अभिवृद्धि गर्ने, नेपाललाई विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्रका रूपमा स्थापित गर्ने तथा राष्ट्रिय हितलाई सुदृढ बनाउने उद्देश्यले अघि सारिएको हो।
राणाले धार्मिक पहिचानसँगै आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन पनि हिन्दु राष्ट्रको अवधारणा उपयोगी हुने दाबी गरे।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार











प्रतिक्रिया