काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाले राप्रपाले वर्षौंदेखि राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा चुनावी नारामा मात्रै सीमित राखेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा नवगठित ‘जय नेपाल पार्टी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राप्रपाले जनताबाट पटक–पटक अवसर पाए पनि आफ्नै मूल एजेन्डा कार्यान्वयन गर्न नसकेको दाबी गरे।

उनले राप्रपाबाट अपेक्षित परिणाम ननिस्किएपछि राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नयाँ राजनीतिक अभियान सुरु गर्न बाध्य भएको बताए। उनका अनुसार अब ती मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित ‘जय नेपाल पार्टी’ स्थापना गरिएको हो।

डा. राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको सहकार्यमा गठन हुन लागेको उक्त पार्टीले राजासहितको हिन्दु राष्ट्रलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने जनाएको छ।

राणाले राप्रपाले करिब ३७ वर्षसम्म राजसंस्थाको नाममा जनमत बटुले पनि सत्ता र राजनीतिक अवसर प्राप्त गरेपछि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाए।

‘जनताले पटक–पटक विश्वास गरेर अवसर दिए, तर पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदै मूल एजेन्डालाई नै ओझेलमा पार्‍यो,’ उनले भने।

निर्वाचनपछि राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा समाप्त भएको सन्देश प्रवाह गर्न खोजिएको दाबी गर्दै उनले त्यसलाई जीवित राख्न र जनताको माझ पुनः स्थापित गर्न ‘जय नेपाल पार्टी’को स्थापना गरिएको स्पष्ट पारे।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com