काठमाडौं । दाङको तुलसीपुरमा भएको दर्दनाक सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्थित नायकमार्ट नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा स्कुटर चालक २१ वर्षीया कल्पना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार तुलसीपुर–११ कटाह निवासी केसीले चलाएको रा ४ प ७९४५ नम्बरको स्कुटर दुर्घटनामा परेपछि रा १ ग ३२ नम्बरको टिपरले किचेको थियो। गम्भीर घाइते भएकी केसीलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार स्कुटर पहिले कप्र ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। ठक्करपछि स्कुटर सडकमा लड्दा पछाडिबाट आइरहेको टिपरले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि टिपर र मोटरसाइकल दुवैका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार











प्रतिक्रिया