काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’लाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

विशेष अदालतले यसअघि गुरुङको पक्षमा गरेको सफाइको फैसलालाई चुनौती दिँदै सरकारले दायर गरेको पुनरावेदन निवेदनलाई न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार खारेज गर्दै विशेषकै निर्णयलाई सदर गरेको हो।

विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको थियो। उक्त पुनरावेदन परेको आठ वर्षपछि सर्वोच्च अदालतबाट यो अन्तिम फैसला आएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा गुरुङले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो।

काठमाडौँमा ७ आना र परिवारका नाममा काठमाडौँ तथा गोरखामा गरी करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति विभिन्न क्षेत्रमा लगानी गरी वैधानिक बनाउन खोजेको आरोप विभागले लगाएको थियो।

यसै मुद्दामा अभियुक्त बनाइएका दीपक मनाङे (राजीव गुरुङ) ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका छन्। यस्तै अभियोग लागेका अन्य अभियुक्तहरू गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको मुद्दा भने अझै विचाराधीन अवस्थामै रहेको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com