काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभएको भन्दै आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले चरणबद्ध रूपमा सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्ने तथा विद्यालय प्रशासन र शिक्षामा हुने राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गर्नुपर्ने महासंघका प्रमुख माग हुन्।
यस्तै, बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, महँगी भत्ता र अन्य सेवा–सुविधा सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको उनले बताए।
महासंघले राहत, साविक उच्च माध्यमिक तहका अस्थायी तथा करार शिक्षक, बाल कक्षा शिक्षक, सिकाइ अनुदान, विशेष शिक्षा तथा प्राविधिक धारमा कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरूको पेसागत सुरक्षा, सेवा–सुविधा र भविष्य सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेको छ।
महासंघले आफ्ना मागप्रति सरकारले समयमै गम्भीर ध्यान नदिए भदौदेखि देशभर प्रभावकारी आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिएको छ।




प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया