काठमाडाैं । काठमाडौँको माइती घरको एक छेउमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन । यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध/आलोचना गर्ने ठाउँ बनेको छ ।
जेन–जी प्रदर्शन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बलात्कारपीडित, सुकुम्बासीदेखि हरेक माग राख्नेहरुको मुकाम हो – माइतीघर मण्डला । यहाँ आउने सबैका आवाज सरकारले सुन्छ भन्ने त होइन, तर माइती घरमा राखिएका धेरै स्वर सिंहदरबारसम्म पुग्छ । यहीकारण माइती घरमा आन्दोलन गर्ने शिक्षक, मिटरब्याजपीडित, सहकारी पीडित, चिकित्सकलगायत पीडितसँग सरकार वार्ता र सहमतिका लागि आइपुग्छ ।
कुनैबेला फिल्मको ब्यानर टाँसिएको माइती घरमा आज पनि ब्यानरको कमी छैन । फरक यत्ति हो, २०२० सालतिर ‘माइती घर’ चलचित्रको प्रचार गर्न यहाँको एउटा घरमा ब्यानर राखिएको थियो । त्यहीँ कार्यालय पनि थियो । यही कारण यो ठाउँको नाम कालान्तरमा ‘माइती घर’बन्न पुग्यो । हिजो चलचित्रको प्रचार गर्न पोष्टर राखिएको माइती घरमा आज न्याय माग्नेहरुको ब्यानर हुन्छ ।
कुनैबेला गोरखाका राजा राम शाहले भनेका थिए – न्याय नपाए गोरखा जानु । आजकल माइती घरबारे यो उखान खास फरक पर्दैन – न्याय नपाए माइती घर जानु ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया