काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिपक्षको आवाजलाई सरकारले कति गम्भीरतापूर्वक सुन्छ भन्ने कुराले नै सरकारको सफलता वा असफलता निर्धारण गर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले विगतका सरकारहरूले प्रतिपक्षका सुझाव र आलोचनालाई बेवास्ता गर्दा शासन सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै वर्तमान सरकारले त्यही गल्ती दोहोर्याउन नहुने चेतावनी दिए।

उनले जनताका समस्या र आवाज उठाउन सांसदहरू संसद्मा पुगेको स्मरण गराउँदै सदनमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै उनले भने, ‘सरकारले आफ्नो आधिकारिक अडान स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ। देशका ज्वलन्त विषयमा सरकार मौन बस्न मिल्दैन।’

हर्क साम्पाङले पछिल्लो समय देखिएको ग्यास आपूर्ति समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्ताले कर र मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर ग्यास खरिद गर्दा पनि आपूर्ति किन अवरुद्ध भयो भन्ने प्रश्न उठाए।

‘जनताले कर–भ्याटसहित ग्यास खरिद गर्छन्। त्यो रकम कहाँ गइरहेको छ? आपूर्तिकर्तालाई भुक्तानी किन हुन सकेन?’ उनले प्रश्न गर्दै ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरे।

बीचमै आर्थिक अनियमितता भएको आशंका व्यक्त गर्दै साम्पाङले ग्यास आपूर्ति प्रणालीमा देखिएको समस्या तत्काल समाधान गरी जनतालाई सहज सेवा उपलब्ध गराउन सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com