रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–५ अन्तर्गत गाउँब्लक क्षेत्रमा बसोबास गर्दै आएका २७१ जना जग्गाधनीले शुक्रबार जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि कानुनी स्वामित्वबाट वञ्चित स्थानीयलाई लालपुर्जा वितरणसँगै उनीहरूको सम्पत्ति अधिकार औपचारिक रूपमा सुनिश्चित भएको छ।
आयोजित कार्यक्रममा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव तथा नापी कार्यालय रुपन्देहीका प्रमुख मणिप्रसाद रेग्मीलगायतले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै चालु आर्थिक वर्षभित्र आवश्यक कानुनी व्यवस्था गर्न विधेयक ल्याइने जानकारी दिए।
उनले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र नापी कार्यालयबीच प्रभावकारी समन्वय कायम गरेर भूमि सम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार गाउँब्लक क्षेत्रका नागरिकलाई लालपुर्जा उपलब्ध गराउने काम सफल भएको उल्लेख गर्दै नापी कार्यालयसँगको सहकार्यले यो उपलब्धि सम्भव भएको बताए।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणिप्रसाद रेग्मीले लालपुर्जा वितरणलाई नागरिकको कानुनी सम्पत्ति अधिकार स्थापित गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै अन्य स्थानीय तहबाट पनि यस्तै समन्वय र सहयोगको अपेक्षा रहेको बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले गाउँब्लक क्षेत्रका स्थानीयले वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि लालपुर्जा नहुँदा विभिन्न प्रशासनिक र कानुनी समस्या झेल्नुपरेको उल्लेख गर्दै अब त्यसको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चालिएको बताए।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया