विराटनगर । प्लाइउड उत्पादन तथा निर्यात क्षेत्रमा सक्रिय ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीको विशेष साधारण सभाले जारी पूँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको प्रधान कार्यालयमा शुक्रबार सम्पन्न विशेष साधारण सभाले संस्थापक शेयरको मूल्य निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ। सभाले संस्थापक शेयरको अंकित मूल्यमा प्रतिशेयर १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी यसअघि नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ। कम्पनीले आवश्यक कानुनी तथा प्रक्रियागत तयारीलाई तीव्रता दिँदै सर्वसाधारणलाई शेयर जारी गर्ने योजना अघि बढाएको जनाएको छ।
ग्रिनप्लाई नेपालले पछिल्ला वर्षहरूमा व्यवसाय विस्तारसँगै उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको दाबी गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि हुँदै वार्षिक कारोबार करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको उल्लेख गर्दै व्यवस्थापनले सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन र व्यवसायिक स्थायित्व आफ्नो प्रमुख बल रहेको जनाएको छ।
कम्पनीले उत्पादन गरेको करिब ३० प्रतिशत प्लाइउड स्वदेशी बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको जनाएको छ।
निर्यात प्रवर्द्धनमा योगदान पुर्याएबापत नेपाल सरकारबाट निर्यात अनुदान प्राप्त गर्दै आएको कम्पनीले भारतीय बजारमा बिक्रीका लागि आवश्यक BIS Certification समेत हासिल गरिसकेको जानकारी दिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वित्तीय संरचनामा पनि उल्लेखनीय सुधार देखिएको छ। कम्पनीका अनुसार ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ।
यस अवधिमा ६ करोड रुपैयाँ बराबर नयाँ शेयर पूँजी थपिनुका साथै नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुरूप सञ्चित नाफा समायोजन गरिएकाले कम्पनीको मूर्त खुद सम्पत्ति (Net Tangible Assets) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको जनाएको छ।
ग्रिनप्लाई नेपालले गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादनमा केन्द्रित भएर व्यवसाय विस्तार गरिरहेको जनाएको छ। आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण, दक्ष व्यवस्थापन र सुदृढ वितरण प्रणालीमार्फत कम्पनीले बजार विस्तारलाई प्राथमिकतामा राखेको छ।
आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति अपनाएको जनाएको छ।
स्वदेशमा प्लाइउड आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्यसहित कम्पनीले दीर्घकालीन रूपमा लगानीकर्तालाई आकर्षक प्रतिफल दिने र उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य लिएको जनाएको छ।
ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडका अध्यक्ष उद्योगी जीवनप्रसाद रिजाल रहेका छन्। कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको प्रमुख लगानी रहेको छ।
यस्तै, स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड र हार्वेस्ट भेन्चर्सजस्ता संस्थागत लगानीकर्ताको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ।
उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय, बलियो वित्तीय अवस्था, अनुभवी नेतृत्व र दीर्घकालीन व्यवसायिक रणनीतिका आधारमा ग्रिनप्लाई नेपाललाई नेपालको उत्पादन क्षेत्रमा उच्च सम्भावना बोकेको कम्पनीका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया