काठमाडौं। नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बिहीबार र शुक्रबार सञ्चालित कारबाहीका क्रममा उनीहरूलाई भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा दाङको तुलसीपुरबाट पाँच जना तथा झापाको अर्जुनधारा र कन्काईबाट गरी चार जना रहेका छन्।
त्यसैगरी धनकुटाको पाख्रीबास, भक्तपुरको सल्लाघारी र लोकन्थली तथा रूपन्देहीको ओमसतिया र सिद्धार्थनगरबाट दुई-दुई जना समातिएका छन्। यसैगरी नवलपरासी पश्चिमको रामग्राम, मकवानपुरको हेटौँडा, पाल्पाको रामपुर र बाराको महागढीमाईबाट एक-एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गस्ती टोलीले अभियुक्तहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायतका नियन्त्रित औषधिहरू बरामद गरेको छ। पक्राउ परेका सबैजनामाथि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया