काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विद्यमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त हुन राप्रपा थप बलियो बन्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले आगामी महाधिवेशनलाई पार्टीको संगठनात्मक भविष्यसँगै मुलुकको राजनीतिक दिशाका लागि समेत महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उनले अहिले पार्टीको सम्पूर्ण शक्ति महाधिवेशनको तयारीमा केन्द्रित रहेको बताए।

ठूला राजनीतिक दलप्रति बढेको जनआक्रोश र नयाँ शक्तिप्रतिको आशाबीच वर्तमान राजनीतिक समीकरण बने पनि छोटो समयमै जनतामा निराशा बढेको लिङदेनको दाबी छ। दैनिक ज्यालादारीमा निर्भर श्रमिकदेखि निजी क्षेत्रसम्म असुरक्षित र त्रसित अवस्थामा रहेको उनले बताए।

‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो। यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ,’ लिङदेनले भने।

उनले बजारमा महँगी बढेको र कृत्रिम अभाव सिर्जना भइरहेको आरोप लगाउँदै जनसरोकारका यस्ता विषयमा प्रभावकारी रूपमा आवाज उठाउने अवस्था कमजोर भएको बताए। मुलुक गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको दाबी गर्दै उनले गरिब, सुकुम्बासी तथा आम नागरिकका पक्षमा उभिने जिम्मेवारी राप्रपामाथि आएको बताए।

लिङदेनले मुलुकलाई विद्यमान संकटबाट बाहिर निकाल्न नयाँ सोच र दृष्टिकोणसहित राप्रपा जनतामाझ जानुपर्नेमा जोड दिए।

उनले अहिले भइरहेका स्थानीय तहका अधिवेशनलाई महाधिवेशनको पूर्वतयारीसँगै संगठन सुदृढीकरणको आधार बनाउन कार्यकर्तालाई निर्देशन दिए। आगामी महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नीति निर्माण र राजनीतिक प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com