काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी () का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र सक्रिय कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्।
शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्तालाई आग्रह गरे।
पार्टी र देशको सेवामा समर्पित भएर काम गर्न चाहने कुनै पनि कार्यकर्ताले अवसर नपाइने डर राख्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। काम गर्ने कार्यकर्ताका लागि पार्टीमा पर्याप्त स्थान रहेको उनले बताए।
‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन,’ लिङ्देनले भने, ‘सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु।’
उनले जिम्मेवारी लिएर काम गर्ने कार्यकर्तालाई पार्टीमा उचित स्थान दिइने तर पद मात्र ओगट्ने र संकटका बेला संगठनबाट पछि हट्नेहरूलाई भने साथ नदिइने स्पष्ट पारे।
लिङ्देनले पार्टीभित्रका अन्तरसंघर्ष वा विगतका मतभेदका कारण कोही पनि त्रसित हुनुपर्ने अवस्था नरहेको बताए। आफू सबै कार्यकर्ताको अभिभावकका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीका लागि योगदान गर्नेहरूलाई संरक्षण गरिने बताए।
उनले जिम्मेवारी पाएर पनि काम नगर्ने तथा कठिन परिस्थितिमा संगठनलाई साथ नदिनेहरूका लागि भने पार्टीमा स्थान नरहने चेतावनी दिए।
अध्यक्ष लिङ्देनले पार्टीको जनाधार विस्तारका लागि परिवारबाटै संगठन निर्माणको अभियान सुरु गर्न कार्यकर्तालाई आग्रह गरे। ‘पहिले आफ्नो परिवारका सदस्यलाई राप्रपामा आबद्ध गराउनुस्। आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने।
राप्रपाले संगठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै लिङ्देनले अभियानलाई प्रभावकारी बनाउन सबै कार्यकर्तालाई सक्रिय रूपमा जुट्न निर्देशन दिए।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया