काठमाडौं । विद्यार्थी तथा युवा खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको ब्लू बर्ड सुपर लिग–२०२६ को तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आज अक्सन आयोजना गरिएको हो।
विद्यार्थीलाई लक्षित गरी आयोजना हुन लागेको प्रतियोगितामा हाल अध्ययनरत विद्यार्थीका साथै पास–आउट भइसकेका विद्यार्थीले समेत सहभागिता जनाउन पाउनेछन्। करिब चार महिनासम्म सञ्चालन हुने लिगका खेलहरू प्रत्येक शनिबार र आइतबार सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल र क्रिकेट गरी चार खेल मावेश गरिएको छ। आजको अक्सनमा सहभागी खेलाडीहरूको खेल क्षमता, दक्षता र प्रदर्शनका आधारमा विभिन्न टोलीमा छनोट हुने छन्।
हाल अध्ययनरत तथा पास–आउट भएका विद्यार्थीसमेत अक्सनमा सहभागी हुँदै आफ्नो खेल प्रतिभा प्रस्तुत गर्ने छन्। एउटै प्रतियोगितामा चार फरक खेल समेटिएकाले विद्यार्थी तथा खेलप्रेमीमा उत्साह बढेको आयोजकको भनाइ छ।
ब्लू बर्ड सुपर लिगले विद्यार्थी तथा युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धात्मक वातावरणमा क्षमता विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा आयोजकको छ। प्रतियोगिताले खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै टिमवर्क, अनुशासन, नेतृत्व क्षमता र आपसी मित्रता अभिवृद्धिमा समेत सहयोग पुग्ने आयोजकको भनाई छ।
खेलकुदसँगै व्यक्तित्व विकासमा जोड
ब्लू बर्ड सुपर लिग खेलकुद प्रतियोगितामा मात्र सीमित नभई विद्यार्थीलाई जीवनका व्यावहारिक अनुभवसँग जोड्ने माध्यमसमेत भएको ब्लू बर्ड कलेजका प्रधानाध्यापक बीएस क्षेत्रीले बताए।
खेलकुदमार्फत विद्यार्थीमा प्रतिस्पर्धाको भावना मात्र नभई टिमवर्क, अनुशासन, मित्रता र नेतृत्व क्षमताको विकास गर्न सकिने उनको भनाई छ। शैक्षिक विकाससँगै विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
विद्यार्थीको समग्र विकासका लागि अध्ययनसँगै खेलकुदका आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने क्षेत्रीको भनाइ छ। खेलकुदले विद्यार्थीलाई स्वस्थ र अनुशासित बनाउनुका साथै भविष्यमा नयाँ अवसरसमेत सिर्जना गर्ने उनले बताए।
ब्लू बर्ड कलेजका उपप्रधानाध्यापक दिपकराज जोशीले पनि विद्यार्थीको शैक्षिक यात्रासँग खेलकुदलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। खेलकुदलाई नियमित गतिविधिका रूपमा अघि बढाउँदा विद्यार्थीमा शारीरिक स्फूर्ति, अनुशासन र आत्मविश्वास विकास हुने उनको भनाइ छ।
खेलकुदलाई करियरको क्षेत्र बनाउनुपर्ने सांसद खरेलको भनाइ
सांसद जगदीश खरेलले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई करियर निर्माणको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए।
फुटबल, क्रिकेट, बास्केटबल, भलिबललगायत विभिन्न खेलमा युवाले आफ्नो भविष्य निर्माण गर्न सक्ने भन्दै उनले खेलाडीको क्षमता र प्रतिभालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
नेपालमा खेलकुदका माध्यमबाट रोजगारी र अवसर सिर्जना गर्न सकिने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्नसमेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्न सक्ने खरेलले बताए।
आगामी सातादेखि लिग
आजको अक्सनबाट छनोट भएका खेलाडी तथा टोलीले आगामी साताको शनिबार र आइतबारदेखि लिगमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि प्रत्येक साताको शनिबार र आइतबार खेल सञ्चालन हुनेछन्।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया