काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव कायमै रहेपछि शनिबार मन्त्री यादवले बिभिन्न ग्यास उद्योगका साथै आयल निगमको टेकुस्थित बितरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको बितरण प्रक्रियाका बारेमा जानकारी लिदै छिटो भन्दा छिटो सहज रुपमा ग्यास पाउने अवस्था बनाउन निर्देशन दिएकी थिइन् । सो क्रममा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले अहिले भारतबाट ग्यास आपूर्तिमा कुनै समस्या नदेखिएको भन्दै बितरण प्रणालीमा देखिएको समस्या छिटै समाधान हुने बताए ।

नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख ग्यास सिलिन्डरको माग रहेकोमा हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री÷वितरण भइरहेको उनले बताए । सहज बितरणका लागि वाणिज्य विभागको १५–२० जनाको टोली तथा मन्त्री र सम्बन्धित अधिकारीहरू निरन्तर बजार अनुगमनमा खटिएको उनले बताए । यता उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

उपभोक्ताहरुले निगमको टेकुस्थित बितरण केन्द्रमा समेत सहज रुपमा ग्यास पाउन नसकेको बताएका छन् । निगमले भने नागरिकलाई रित्तो हात फर्किन नदिन बितरणको समय अवधि थप्ने भन्दै थप जनशक्ति तथा नियन्त्रण कक्षको व्यवस्था गरिएको जनाएको छ । निगमले फुल सिलिण्डरको बिक्री सुरु गरेसँगै बजारमा ग्यासको अभाव देखिएको हो ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com