कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको छ।
६५ वर्षीय सिंह शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्मतर्फ जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए। त्यसपछि उनी सम्पर्कमा नआएपछि परिवारले खोजी थालेको थियो।
प्रहरीका अनुसार सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगलमा फेला परेको छ। पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर जंगलभित्र शुक्रबार दिउँसो मोटरसाइकल रोकिएको अवस्थामा भेटिएको हो।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीका लागि तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सीसीटीभी फुटेजमा शुक्रबार दिउँसो करिब सवा ३ बजे सिंह रामराज पुलसम्म पुगेको देखिएको छ। त्यसपछि उनले आफन्तलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेको पनि खुलेको छ।
तर पूर्वमेयर किरण सिंह हराएको सूचना प्रहरीलाई भने शुक्रबार साँझ करिब ६ बजेतिर मात्र प्राप्त भएको थियो। उनको मोबाइलको कल डिटेललगायत प्राविधिक विवरणका आधारमा समेत खोजी तथा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए।
सिंहको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए। उनी अघिल्लो कार्यकालमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया