काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले कानूनसम्मत भन्सार जाँचपास प्रणालीको प्रभावकारी कार्यान्वयनप्रति आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

भन्सार विभागले हालै जारी गरेको परिपत्रमार्फत प्रचलित भन्सार कानूनबमोजिम नियुक्तिपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिलाई मात्र सम्बन्धित मालवस्तुको जाँचपास कार्यमा संलग्न गराउने तथा अनधिकृत व्यक्तिलाई जाँचपास प्रक्रियामा सहभागी नगराउने निर्देशनप्रति महासंघले स्वागत गरेको हो।

महासंघले कानूनद्वारा अधिकारप्राप्त व्यक्ति र अनधिकृत व्यक्तिबीच स्पष्ट पहिचान कायम हुनु नै उत्तरदायी, पारदर्शी र व्यवस्थित भन्सार प्रशासनको आधार भएको जनाएको छ।

विभागको पछिल्लो निर्देशनले भन्सार जाँचपास प्रतिनिधिको वैधानिक पहिचान र जिम्मेवारी स्पष्ट गर्नुका साथै अनधिकृत संलग्नता नियन्त्रण, पेशागत उत्तरदायित्व र सुशासन सुदृढीकरणका लागि महत्वपूर्ण आधार तयार गरेको महासंघको भनाइ छ।

महासंघ तथा देशभरका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिहरूले आवश्यक आन्तरिक तयारीसहित प्रचलित भन्सार ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्दै कानूनले तोकेको जिम्मेवारी स्वयं निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेका छन्।

महासंघका अनुसार कानूनको पूर्ण कार्यान्वयनसँगै व्यवहारमा प्राप्त हुने अनुभवले वर्तमान भन्सार जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेशागत संरचनाका व्यवहारिक पक्षलाई समेत वस्तुगत रूपमा मूल्यांकन गर्ने अवसर प्रदान गर्नेछ।

कार्यान्वयनका क्रममा कुनै संरचनागत वा व्यवहारिक कठिनाइ देखिएमा त्यसलाई कानूनको अवज्ञाको विषय नबनाई तथ्य र अनुभवका आधारमा भन्सार विभाग तथा नेपाल सरकारसँग संस्थागत संवादमार्फत आवश्यक नीतिगत तथा कानुनी समाधान खोजिने महासंघले जनाएको छ।

महासंघले कुनै पनि प्रकारको अनधिकृत प्रतिनिधित्व, इजाजतपत्रको दुरुपयोग वा गैरकानुनी अभ्यासको पक्षमा आफू नरहेको पनि स्पष्ट पारेको छ। महासंघका अनुसार विषय कुनै व्यक्ति वा समूहको प्रवेश वा बहिर्गमनसँग सम्बन्धित नभई कानूनले अधिकार, जिम्मेवारी र उत्तरदायित्व तोकेको वैधानिक संरचनाबाट नै भन्सार जाँचपास प्रणाली सञ्चालन हुनुपर्ने विषय हो।

भन्सार एजेन्ट महासंघ नेपालले राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण, पारदर्शिता, सुशासन तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा नेपाल सरकार र भन्सार प्रशासनको जिम्मेवार पेशागत साझेदारका रूपमा आवश्यक सहयोग गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

 

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com