काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिसहित सबै समुदायका बाँकी अधिकार सुनिश्चित गर्न संघर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका छन् ।
विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको संरक्षण गर्दै थप अधिकारका लागि निरन्तर आवाज उठाउनुपर्ने बताएका हुन् ।
‘पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो,’ प्रचण्डले भनेका छन् ।
उनले विविधताको सम्मान र सबै नागरिकका लागि समान अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने धारणा राखेका छन् । सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानजनक सहभागिताले मात्रै समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्न सकिने उनको भनाइ छ ।
‘सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिन्छ,’ प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।
उनले विश्व आदिवासी जनजाति दिवसले पहिचान, समानता, सामाजिक न्याय र अधिकारका लागि भएका संघर्षलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया