काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिग किशोरीको डिम्ब निकालिएको घटनामा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा प्रहरीसमक्ष उपस्थित भएर बयान दिएकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुर र सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएकी डा. शर्माले आफूले उपचार तथा डिम्ब निकाल्ने प्रक्रियामा कुनै गलत नियत नराखेको दाबी गरेकी छन्।

प्रहरी स्रोतका अनुसार डा. शर्माले अस्पतालमा आउने बिरामी वा डिम्बदाताको उमेर, परिचयपत्र तथा आवश्यक कानुनी कागजात प्रमाणीकरण गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको भएकाले ती किशोरी नाबालिग रहेको आफूलाई जानकारी नभएको बयान दिएकी छन्।

पेसागत कामका सिलसिलामा आफू फिलिपिन्समा रहेकाले समयमै प्रहरीसमक्ष उपस्थित हुन नसकेको उनको भनाइ छ। स्वदेश फर्किएलगत्तै अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले प्रहरी र सरकारी वकिलको कार्यालयमा उपस्थित भएको उनले बताएकी छन्।

डा. शर्माविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी नभएको र उनी स्वयं अनुसन्धानमा उपस्थित भएर पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाडेको प्रहरीले जनाएको छ।

नाबालिग किशोरीको डिम्ब निकालिएको घटनाबारे प्रहरीले चिकित्सकसहित संलग्न अन्य व्यक्तिहरूमाथि अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com