काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन्।
डिपोबाट ग्यास वितरणमा केही दिन ढिलाइ भएको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला सांसद तामाङले अहिले देखिएको समस्या अस्थायी भएको बताएकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ग्यास आपूर्तिको समस्या विगतदेखि नै रहँदै आएको दाबी गरेकी छन्।
तामाङले विगतमा लामो समयसम्म ग्यासको अभाव भोग्नुपरेको स्मरण गर्दै अहिले एक–दुई दिन आपूर्तिमा ढिलाइ हुँदैमा त्यसलाई ठूलो समस्या बनाएर प्रस्तुत गर्न नहुने तर्क गरेकी छन्।
‘ग्यासको हाहाकार पहिलेदेखि थियो, एक वर्षसम्म ग्यास नपाएर स्टभमा भात पकाएर खाएको मलाई थाहा छ। आज एक–दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ,’ उनले लेखेकी छन्।
नेपाल एलपी ग्यास उत्पादनमा आत्मनिर्भर नभएको र आयातमा निर्भर रहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले वर्षायाममा आयात तथा ढुवानी प्रक्रियामा केही ढिलाइ हुनु अस्वाभाविक नभएको बताएकी छन्।
उनले विदेशी मुलुकबाट आयात गरिने खनिजजन्य इन्धनको आपूर्तिमा मौसमका कारण एक–दुई दिन तलमाथि हुँदैमा सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्न आवश्यक नरहेको जिकिर गरेकी छन्।
‘ग्यास हाम्रो देशमा छैन, अरू देशमा भएको खनिज पदार्थ ल्याउँदा बर्खायाममा एक–दुई दिन तलमाथि हुँदा सबै मिलेर सरकारमाथि खनिनु आवश्यक छ ?’ उनले प्रश्न गरेकी छन्।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार












प्रतिक्रिया