काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक तथा व्यावसायिक कार्ययोजनाबिना हचुवाको भरमा हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याए विगतकै असफलता दोहोरिने बताएका छन्।

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयलाई राजनीतिक प्रचारको माध्यम बनाउन नहुने भन्दै पोखरेलले उद्योगलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न ठोस योजना आवश्यक रहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकार गठन हुनेबित्तिकै हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने प्रयास गरिने र केही समय सञ्चालनमा ल्याएको देखाउने प्रवृत्ति दोहोरिँदै आएको बताए। तर, केही समयपछि उद्योग पुनः बन्द हुने पुरानै अवस्था कायम रहेको उनको भनाइ छ।

‘नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिन्छ, केही दिन चलेको नाटक पनि देखाइन्छ। तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिन्छ,’ पोखरेलले भने।

उनले राजनीतिक प्रचारका लागि उद्योग सञ्चालनको देखावटी प्रयास दोहोर्‍याउनुभन्दा त्यसलाई आधुनिक प्रविधि, व्यावसायिक दक्षता र प्रभावकारी व्यवस्थापनसहित दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक योजना बनाउनुपर्नेमा जोड दिए।

‘स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ,’ उनले भने।

पोखरेलले उद्योग सञ्चालनअघि यसको आर्थिक सम्भाव्यता, उत्पादन क्षमता, बजार, प्रविधि, व्यवस्थापन र लगानीको स्पष्ट खाका तयार गर्नुपर्ने संकेत गरेका छन्। उनका अनुसार दीर्घकालीन व्यावसायिक योजना र प्रतिस्पर्धी क्षमता सुनिश्चित नगरी उद्योग सञ्चालनमा ल्याउनुको अर्थ विगतकै समस्या दोहोर्‍याउनु हुनेछ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com