काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको संस्थागत संरचना तथा कार्यसञ्चालनको प्रारम्भिक ढाँचा तयार गरेका छन्। उनले सार्वजनिक गरेको यही ढाँचालाई आधार बनाएर मन्त्रालयसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयको प्रस्तावित संस्थागत संरचना सार्वजनिक गर्दै वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा मन्त्रालयका शुभेच्छुकबाट सुझाव मागेका हुन्।

उनले सार्वजनिक गरेको ढाँचामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन केन्द्र, कोषलगायत विभिन्न सम्बद्ध निकायको संरचना समेटिएको छ।

पुनले ढाँचामा कुनै गम्भीर त्रुटि भए वा सुधार गर्नुपर्ने महत्वपूर्ण विषय देखिए त्यसबारे सुझाव दिन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘सम्पूर्ण वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक र मन्त्रालयका शुभेच्छुकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको काम गर्ने–गराउने ढाँचा हेर्नुहोला। यसैको आधारमा विधेयक बन्दैछ।’

मन्त्री पुनका अनुसार विधेयकको मस्यौदा तयार गर्ने काम विगत दुई महिनादेखि भइरहेको छ। उनले सार्वजनिक छलफलबाट प्राप्त महत्वपूर्ण सुझावलाई विधेयक निर्माण प्रक्रियामा समेट्ने संकेतसमेत गरेका छन्।

मन्त्रालयको प्रस्तावित संरचनाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रका नीति निर्माण, अनुसन्धान, प्रवर्द्धन तथा संस्थागत समन्वयलाई व्यवस्थित गर्ने उद्देश्य राखेको बताइएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com