काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलकै सांसद हरि ढकालको प्रस्तावप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नु ऐतिहासिक पहिचान मेटाउने प्रयास भएको टिप्पणी गर्दै यस्तो गतिविधि रोक्न आग्रह गरेकी हुन्।
सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। त्यसप्रति प्रतिक्रिया जनाउँदै घतानीले सिंहदरबारमाथि भएको क्षति र त्यसको इतिहास मेटाउने प्रयास दुवैप्रति प्रश्न उठाइन्।
‘सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ, बन्द गरियोस्,’ उनले संसद्मा भनिन्।
घतानीले मुलुकमा नागरिकको निराशा बढ्दै गएको भन्दै सरकार जनताका दैनिक समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताइन्।
उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै, किसानलाई समयमै रासायनिक मल र आफ्ना उत्पादन बिक्रीका लागि बजार उपलब्ध गराउन तथा युवाका लागि रोजगारी सिर्जना गर्न सरकारसँग माग गरिन्। व्यापारीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनसमेत उनले आग्रह गरिन्।
राहदानी, सवारीचालक अनुमतिपत्र तथा अस्पतालमा देखिने लामो लाइनको समस्या अन्त्य गर्नुपर्नेमा जोड दिँदै घतानीले राज्यले नागरिकका आधारभूत समस्या सम्बोधन गर्न नसकेको गुनासो गरिन्।
उनले प्रश्न गरिन्, ‘सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित, युवा सबैको एउटै प्रश्न छ– सरकार, हामीलाई कहिले देख्छौ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने?’
घतानीले जनतामा बढ्दै गएको असन्तुष्टि र निराशालाई सम्बोधन गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताइन्।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया