काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूमाथि मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको खण्डन गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध व्यक्तिगत लाञ्छना लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता आरोप प्रमाणित गर्न चुनौती दिए।

उनले संसद्मै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोली बोलाएर आफ्नो रगतलगायत शरीरका आवश्यक परीक्षण गर्न आग्रह गरे। आफ्नो शरीरमा मदिरा सेवनको कुनै प्रमाण भेटिए आफू तत्काल सांसद पदबाट राजीनामा दिन तयार रहेको उनको दाबी थियो।

‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ शाहीले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने? यसको जवाफ गृहमन्त्रीसँग माग्छु।’

सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएकोप्रति समेत शाहीले आपत्ति जनाए। उनले प्रविधिको दुरुपयोग गरी डिपफेक तथा नक्कली भिडियो बनाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरे।

‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो। यसले मेरो परिवार, श्रीमती र छोरीको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा कसैले सोचेको छ?’ उनले प्रश्न गरे।

यस्ता साइबर बुलिङ तथा चरित्र हत्या गर्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्न प्रहरी र सरकार किन मौन बसेको भन्दै उनले प्रश्नसमेत उठाए।

शाहीले आफूले कर्णालीका दुई दलित परिवारको मृत्यु तथा जनजीविकासँग जोडिएका विभिन्न विषय संसद्मा उठाएका कारण योजनाबद्ध रूपमा आफूमाथि आक्रमण भइरहेको दाबी गरे।

‘मैले कर्णालीको पीडा उठाउँदा सरकारले त्यसको उत्तर दिनुको साटो मेरो चरित्र हत्या गरेर मलाई चुप लगाउन खोज्यो,’ उनले भने, ‘तर मेरो ज्यान गए पनि, राजनीतिक जीवन समाप्त भए पनि कर्णाली र पीडित जनताको आवाज उठाइरहनेछु।’

शाहीले आफूमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com