काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षको आवाज दबाएर सरकार अघि बढे मुलुक तानाशाहीतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले प्रतिपक्ष सरकारको विरोधी नभई सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गर्ने र आवश्यक पर्दा ‘ब्रेक’को काम गर्ने सहयात्री भएको बताए।
आफूलाई नेकपा एमाले वा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता भनेर आरोप लगाइएकोप्रति आपत्ति जनाउँदै उनले आफू कुनै दलको कार्यकर्ता नभई जनताका सवाल उठाउने सांसद भएको स्पष्ट पारे।
उनले विगतमा एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका गलत कामको विरोध गर्दा आफूले सडकमा उत्रिएर प्रश्न उठाएको स्मरण गरे।
‘हिजो ओली र प्रचण्ड नेतृत्वको सरकारलाई प्रश्न गर्दा मैले पटक–पटक ज्यान हत्केलामा राखेर आक्रमण सहेको छु,’ शाहीले भने, ‘हामी जनताका प्रश्न उठाउने सांसद हौँ, कसैको कार्यकर्ता होइनौँ।’
आफूमाथि फेक तथा अश्लील भिडियोमार्फत चरित्र हत्या गर्ने प्रयास भएको भन्दै शाहीले त्यसबाट आफू र आफ्नो परिवार गम्भीर मानसिक दबाबमा परेको गुनासो गरे। प्रविधिको दुरुपयोग गरी गरिने यस्ता आक्रमणविरुद्ध आफूले युवावस्थामा दिएको अभिव्यक्ति अस्वाभाविक नभएको उनको दाबी थियो।
यद्यपि, आफ्ना अभिव्यक्तिका कारण शुभेच्छुक तथा समर्थकहरूमा नकारात्मक असर परेको भए त्यसप्रति उनले क्षमासमेत मागे।
शाहीले इतिहासका केही उदाहरण प्रस्तुत गर्दै निर्वाचित नेतृत्वले प्रतिपक्षलाई कमजोर पार्दा लोकतान्त्रिक व्यवस्था संकटमा पर्न सक्ने बताए। उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र जर्मनीका पूर्व तानाशाह एडोल्फ हिटलरको उदाहरण दिँदै प्रतिपक्ष कमजोर बनाउने प्रवृत्तिले अन्ततः देशलाई संकटतर्फ धकेल्न सक्ने टिप्पणी गरे।
‘प्रतिपक्षबिनाको सरकार नुनबिनाको तरकारीजस्तै हुन्छ,’ उनले भने।
त्यस्तै, नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तविपरीत बाह्य शक्तिसँगको साठगाँठ बढाउँदा छिमेकी मुलुकसँगको सम्बन्धमा असर पर्न सक्ने उनले बताए।
बाह्य शक्तिको स्वार्थअनुकूल चल्दा नेपालले भूराजनीतिक संकट बेहोर्नुपर्ने र मुलुक युक्रेनजस्तै द्वन्द्वको चपेटामा पर्न सक्ने खतरा रहेको भन्दै शाहीले सरकारलाई सचेत गराए।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया