काठमाडौं । बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको पहलप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशंसा गरेका छन्।
विशेषगरी लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले अघि बढाएको प्रक्रियाप्रति खुसी व्यक्त गर्दै प्रचण्डले सरकारलाई धन्यवाद दिएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडाको आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
‘नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दा खुसी लागेको छ। यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्, ‘यो पहलबाट कपडा उपभोगमा रहेको हाम्रो आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरिएको स्मरण गरेका छन्। सोही अध्ययनका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको उनको भनाइ छ।
आफ्नो नेतृत्वमा सघन गृहकार्यसहित अघि बढाइएको प्रक्रिया सरकार परिवर्तनसँगै रोकिएको भए पनि अहिले पुनः अगाडि बढ्नु सकारात्मक भएको प्रचण्डले बताएका छन्।
उनले हेटौँडा कपडा उद्योगसँगै सम्भावना रहेका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
‘हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपालले ठूलो फड्को मार्न सक्छ,’ उनले उल्लेख गरेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया