काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।
इतर पक्षले आगामी साउन २९ गतेदेखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार पार्टी विभाजनको उद्देश्य नराखी आयोजना गरिएको भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताको पक्षमा आफ्नो धारणा राख्नेछन्।
उनले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको स्पष्ट पार्दै कोइरालाले भेलामा सहभागी भएर कांग्रेसलाई एकताबद्ध बनाउन आह्वान गर्ने जानकारी दिए।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुन लागेको भेलामा कांग्रेसका संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ।
भेलामा निवर्तमान सभापति शेरबहादुर देउवासमेत सहभागी हुने बताइएको छ। देउवा त्यसका लागि साउन २८ गते स्वदेश फर्किने तयारीमा छन्।
यसअघि राष्ट्रिय भेलाको संयोजन गरिरहेका डा. शशांक कोइरालाले पनि भेलाप्रति डा. शेखर कोइरालाको सहमति रहेको बताएका थिए।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया