काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकाले आप्रवासन नीतिमा कडाइ गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले सोमबार भिसा रद्द गरिएको जानकारी दिएको हो।

विदेश मन्त्रालयका अनुसार भिसाका सर्त उल्लङ्घन गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने, अमेरिकी नागरिकविरुद्ध हिंसा भड्काउने, ठगी गर्ने, आप्रवासन प्रणालीको दुरुपयोग गर्ने तथा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्ने व्यक्तिका भिसा रद्द गरिएको हो।

मन्त्रालयका अनुसार अधिकांश भिसा कानुन कार्यान्वयन गर्ने निकायसँगको सम्पर्कपछि रद्द भएका हुन्। कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी तथा लागुऔषधसम्बन्धी अपराध भिसा रद्दका प्रमुख कारण रहेको जनाइएको छ।

गम्भीर आपराधिक आरोप खेपिरहेका व्यक्तिको भिसासमेत रद्द गरिएको मन्त्रालयले जनाएको छ। बलात्कार तथा यौन दुर्व्यवहारका आरोप लागेका, अपहरण तथा मानव बेचबिखनको आरोपमा पक्राउ परेका र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरू यस सूचीमा परेका छन्।

यस्तै, उत्तर अफ्रिकास्थित एक अमेरिकी दूतावासले अमेरिकामा बच्चा जन्माएर नवजात शिशुलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले यात्रा गरेको आरोप लागेका १०० भन्दा बढी अभिभावकको भिसा रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकामा बच्चा जन्माएर नागरिकता प्राप्त गर्ने उद्देश्यले गरिने यस्तो यात्रालाई ‘बर्थ टुरिज्म’ भनिन्छ।

ट्रम्प प्रशासनले यसअघि जनवरीमा पनि १ लाखभन्दा बढी भिसा रद्द गरेको जनाएको थियो। पछिल्लो तथ्यांकसँगै रद्द गरिएका भिसाको संख्या १ लाख ७५ हजारभन्दा माथि पुगेको हो।

अमेरिकाले पछिल्लो समय आप्रवासनसम्बन्धी नियमको कडाइका साथ कार्यान्वयन गर्दै भिसा तथा प्रवेशसम्बन्धी प्रक्रियामा समेत निगरानी बढाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com