रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ स्थित लक्ष्मिनिया टोलमा लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे नुहाउन तथा पौडी खेल्न नदीमा गएका तीन स्थानीय बालबालिका डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा देवाही गोनाही–२ लक्ष्मिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा नौ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा सात जनाको टोली पनि खोजीमा परिचालन भएको छ।

बेपत्ता बालबालिकाको खोजीलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय डुबान उद्धार टोली रबर बोर्डसहित घटनास्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालबालिकाको खोजी गरिरहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com