काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा खेपिरहेका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका गोल्छाको बयान तथा थुनछेक बहस सकिएपछि अदालतले धरौटी माग गरेको हो।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा उक्त रकम बुझाएर तारिखमा बस्ने तयारीमा छन्।
यसअघि जिल्ला अदालत काठमाडौंले पनि गोल्छासँग बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
गोल्छासहित दीपक भट्ट, शुलभ अग्रवाललगायत ३४ जना व्यक्ति तथा पाँचवटा कम्पनीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
यस्तै, दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा तथा शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया