काठमाडौं । संघीय संसदमा गणपूरक संख्या (कोरम) नपुगेर बैठक स्थगित भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले सांसदहरू सदनमा नभई मन्त्रालयका ढोकाहरूमा मन्त्री र सचिव कुरेर बस्नुपर्ने बाध्यता रहेको बताएकी हुन्।

हिजोको सदनमा सांसदहरूको संख्या नपुगेको विषयलाई लिएर उनले कर्मचारीतन्त्र र मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठाएकी छिन्। तामाङका अनुसार, जनताका गुनासा र विकासका मुद्दाहरू बोकेर सांसदहरू दिनभर मन्त्रालय धाउनुपर्ने अवस्था छ।

सांसद तामाङले लेखेकी छिन्, “संसदहरू सबै मन्त्रालयको ढोकामा कति खेर मन्त्री र सचिवलाई भेट्ने र गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ, अनि पुग्छ त सदनमा संख्या?” उनले सरकार र प्रधानमन्त्री फेरिए पनि काम गर्ने शैली र कर्मचारीतन्त्रमा सुधार नआएको गुनासो गरेकी छिन्। “हामीले भनेको काम ३ महिना बितिसक्दा पनि हुँदैन, दिनमा ३ पल्ट त मन्त्रालय नै धाउनुपर्छ,” उनले थपेकी छिन्।

सांसदहरूले जनताका समस्या समाधानका लागि सम्बन्धित कार्यालयमा फोन गर्दा कि त फोन नउठ्ने वा व्यस्त रहने र उठिहाले पनि “मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस्” भन्ने जवाफ पाउने गरेको उनले उल्लेख गरेकी छिन्। मन्त्रालय पुगेपछि पनि मन्त्रीहरू अर्को बैठकमा व्यस्त हुने भएकाले ‘वेटिङ रुम’ मा घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

शिक्षा, स्वास्थ्य, कानुन, र भौतिक पूर्वाधार जस्ता विभिन्न मन्त्रालयहरूमा फरक-फरक काम लिएर जानुपर्ने हुँदा समयको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले बताएकी छिन्। “एउटा मन्त्रालयमा बल्लतल्ल काम सकिँदा ५ बजिसकेको हुन्छ, झिमिक्क रात पर्छ,” उनले भनिन्, “सांसदको जिम्मेवारीसँगै व्यक्तिगत जीवन र छोराछोरीको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com