धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि भोलि पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

गत असार ३१ गते नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समयसीमा पनि भोलि पूरा हुँदैछ ।

प्रदेशसभामा आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मतको सामना गर्नुभन्दा राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

मुख्यमन्त्री शाह आज पनि प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ सरकार गठनका लागि नेकपा र नेकपा (एमाले) बीच यसअघि नै सहमति भइसकेको छ ।

सहमति कार्यान्वयन भएमा नेकपाको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुने तयारी छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com