एजेन्सी । पश्चिम एसियामा बढ्दो तनाव र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने विषयमा भइरहेका वार्ताले सकारात्मक मोड लिन नसकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
बुधबार लन्डनस्थित आईसीई एक्सचेन्जमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो। अक्टोबर डेलिभरीका लागि ब्रेन्ट क्रुड प्रतिब्यारेल ८९.६१ अमेरिकी डलरमा कारोबार भइरहेको थियो। कारोबारका क्रममा यसको मूल्य ९० डलरनजिक पुगेको थियो।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघिको तुलनामा अहिले ब्रेन्ट क्रुडको मूल्य करिब २४ प्रतिशतले बढिसकेको छ।
बजार विश्लेषकहरूका अनुसार होर्मुज जलडमरु खुलाउने विषयमा तत्काल सहमति हुने सम्भावना कमजोर बन्दै जाँदा तेलको मूल्यमा जोखिम प्रिमियम थपिएको छ।
सिड्नीस्थित केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले बजारले सम्झौताको सम्भावना पूर्ण रूपमा त्यागिनसके पनि वार्ताप्रतिको विश्वास घट्दै गएको बताएका छन्। उनका अनुसार ठोस प्रगति नदेखिएसम्म वार्ता लम्बिँदा व्यवहारिक सम्झौता हुने सम्भावनाप्रति बजारको आशंका बढ्दै जानेछ।
जहाजमाथि आक्रमणले बढायो चिन्ता
यसैबीच, अरबी प्रायद्वीप र अफ्रिकाको हर्नलाई जोड्ने बाब अल–मन्डेब जलडमरुमा व्यावसायिक जहाजमाथि मिसाइल आक्रमण भएको छ।
यमन सरकारले मंगलबार दिएको जानकारीअनुसार इरान समर्थित हुथी विद्रोहीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ। प्रारम्भिक आक्रमणपछि उद्धारमा खटिएका सुरक्षाकर्मीमध्ये दुई जनासमेत मारिएका छन्।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेपछि पनामा झन्डा बोकेको कार्गो जहाजलाई निशाना बनाइएको थियो।
विश्वको २० प्रतिशत तेल आपूर्तिमा असरको जोखिम
इरानसँगको युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलमध्ये करिब २० प्रतिशत तेल स्ट्रेट अफ होर्मुज हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको थियो।
तर युद्धका कारण यो महत्त्वपूर्ण जलमार्गको आवागमनमा ठूलो गिरावट आएको छ। गत सोमबार मात्रै करिब १० वटा जहाज होर्मुज जलडमरु पार गरेका थिए। युद्ध सुरु हुनुअघि दैनिक करिब १३५ वटा जहाज उक्त जलमार्गबाट आवतजावत गर्ने गरेका थिए।
होर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा अमेरिका र इरानबीच सहमति हुने सम्भावना कमजोर बन्दै गएपछि पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया