काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै भव्य स्वागत गर्ने तयारी गरेको छ।
करिब ६ महिनापछि बिहीबार नेपाल फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो।
संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिने जानकारी दिइन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो १२ः३० बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्नेछन्।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा गत फागुन १३ गते राति उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए। तीन दिनसम्म चल्ने भेलामा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने इतर समूहको अनुमान छ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया