काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत कार्यक्रममा सहभागी भएका छन्।
देउवा हङकङबाट उपचारपछि स्वदेश फर्किने क्रममा कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ पनि देखिएका हुन्।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा थप उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। त्यसपछि उनी थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।
करिब पाँच महिनापछि देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किएका देउवा शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ।
इतर समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ।
तीन दिनसम्म सञ्चालन हुने भनिएको राष्ट्रिय भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने आयोजक पक्षले दाबी गरेको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया