काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र सञ्चार सामग्री जफत गरिएको घटनालाई लिएर नेपाल पत्रकार महासंघले सरकारको कडा आलोचना गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन्।

बिहीबार श्रेष्ठलाई बिनाशर्त रिहा गर्न तथा प्रहरीले नियन्त्रणमा लिएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न माग गर्दै आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सरकारले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गरेको आरोप लगाइन्।

सरकारले संविधान र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यतामाथि नै प्रहार गरेको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा कायम रहने नैतिक तथा कानुनी आधार नरहेको दाबी गरिन्।

‘अदालतले समेत समाचारको स्रोत खोतल्न नपाउने संवैधानिक र अन्तर्राष्ट्रिय मान्यता छ,’ शर्माले भनिन्, ‘तर सरकारले जनआस्थाको कार्यालयमै पुगेर कम्प्युटर, सीपीयू तथा पत्रकारका सञ्चार उपकरण जफत गरेर समाचारको स्रोत पत्ता लगाउने गैरकानुनी प्रयास गरेको छ।’

समाचारको विषयमा कुनै आपत्ति भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी समाधान खोज्ने स्पष्ट व्यवस्था हुँदाहुँदै प्रहरी प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यममाथि धरपकड गरिएको भन्दै शर्माले सरकारको कदमको भर्त्सना गरिन्।

उनले सञ्चारकर्मी र सञ्चारगृहमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिइन्। यस्ता गतिविधि नरोकिए महासंघ देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने बताउँदै उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि कानुनी र सडक संघर्ष दुवै माध्यमबाट खबरदारी जारी राख्ने स्पष्ट पारिन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com