काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सञ्चार सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको पक्राउविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

श्रेष्ठकी श्रीमती सरस्वतीले उनका श्रीमान्को पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासमा समेत खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ।

श्रेष्ठमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार तीन दिनको हिरासत म्याद दिएको थियो। हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पनि रहिसकेका छन्।

श्रेष्ठको पक्राउ तथा जनआस्था कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिललगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाले विरोध गर्दै आएका छन्। उनीहरूले श्रेष्ठलाई निःशर्त रिहा गर्न माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा जोड दिएका छन्।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com