काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरू रवि लामिछाने तथा बालेन्द्र शाहको कमजोरीलाई पुराना राजनीतिक दलका नेताहरूले आफ्नो पुनरोदयको आधार बनाउन नहुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिको कमजोर प्रदर्शनलाई देखाएर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो राजनीतिक भूल हुने टिप्पणी गरेका हुन्।
‘रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्,’ भट्टराईले लेखेका छन्।
उनले पुराना दलका शीर्ष नेताहरू पुनः पार्टीभित्र आफ्नो पुरानै भूमिकामा फर्किन सक्रिय भइरहेका प्रसंगतर्फ संकेत गर्दै नयाँ र पुराना दुवै राजनीतिक शक्तिको कमजोरी औँल्याएका छन्।
भट्टराईका अनुसार एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलको अकर्मण्यता तथा प्रमुख नेताहरूको कमजोरीलाई आधार बनाएर रास्वपाको उदय भएको थियो।
‘पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो र तत्काल ठूलो सफलता पनि मिल्यो,’ उनले भनेका छन्।
तर रास्वपा र उसका प्रमुख नेताहरूले पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय चरित्र तथा सामाजिक आधार स्पष्ट गर्न नसक्दा उनीहरूको राजनीतिक यात्रा ओरालोतर्फ गएको भट्टराईको विश्लेषण छ।
‘रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नतर्फ ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको छ,’ उनले उल्लेख गरेका छन्।
भट्टराईले अरूको राजनीतिक परीक्षा हेरेर रमाइरहेकाहरू अहिले आफ्नै परीक्षामा कठिन अवस्थामा पुगेको टिप्पणीसमेत गरेका छन्।
उनले विरोधीमाथिको बदला र प्रतिशोधलाई राजनीतिक नेतृत्व टिकाउने वा शासन लम्ब्याउने आधार बनाउन खोज्नु विगतमा पनि असफल भएको र भविष्यमा पनि सफल नहुने बताएका छन्।
‘बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ,’ भट्टराईले भनेका छन्।
पुराना दलका प्रमुख नेताहरूले पनि विगतका गल्ती दोहोर्याउन थालेको भन्दै उनले नयाँ शक्तिको कमजोरीबाट मात्रै आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने भ्रममा नपर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया