काठमाडौं । नेपालका कारागारमा रहेका कैदीबन्दीभन्दा विभिन्न कारागारबाट फरार रहेका कैदीको संख्या बढी रहेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कार्कीले विभिन्न कारागारबाट हालसम्म १३ हजार ५८९ जना फरार भएको जानकारी दिए। तीमध्ये ३ हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको उनले बताए।

यस्तै, जेनजी आन्दोलनका क्रममा फरार भएका ६८२ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिन नसकेको आईजीपी कार्कीले जानकारी दिए। फरार कैदी तथा अभियुक्त स्वदेश र विदेशमा छरिएर रहेकाले उनीहरूको खोजी चुनौतीपूर्ण बनेको उनको भनाइ थियो।

सबै निकायको अभिलेख एउटै प्रणालीमा जोड्नुपर्ने

आईजीपी कार्कीले फरार अभियुक्तको खोजी तथा अनुसन्धान प्रभावकारी बनाउन सरकारी निकायका मुद्दा र अभियुक्तसम्बन्धी विवरण एउटै प्रणालीमा राख्नुपर्नेमा जोड दिए।

वन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वैदेशिक रोजगार विभागलगायत निकायका मुद्दासम्बन्धी विवरण प्रहरीको केन्द्रीय अभिलेख प्रणाली (सीआरएस) मा समयमै नआउँदा समस्या हुने गरेको उनले बताए।

उनले प्रहरीको सीआरएसलाई ‘सेन्ट्रल सीआरएस’ का रूपमा विकास गरी सबै निकायका मुद्दा तथा अभियुक्तको विवरण एकीकृत गर्न आवश्यक रहेको बताए।

कारागार सुरक्षामा उच्च सतर्कता

सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनापछि कैदीबन्दी स्थानान्तरण गर्नुपरेको जानकारी दिँदै कार्कीले कारागार सुरक्षामा थप सतर्कता आवश्यक रहेको बताए।

कारागार तथा हिरासतको अनुगमनपछि सम्भावित जोखिम देखिएमा समयमै स्थानान्तरणसम्बन्धी निर्णय गर्न सके अप्रिय घटना रोक्न सहज हुने उनको भनाइ थियो।

समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो। बैठकमा बाल सुधार गृहसम्बन्धी प्रतिवेदन पारित गर्ने विषयमा समेत परामर्श भएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com