काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्ने आकांक्षा त्यागेर पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको छैटौँ दिन बोल्दै शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले अब आफूलाई अभिभावकीय भूमिकामा रूपान्तरण गर्नुपर्ने धारणा राखेका हुन्।
देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्दै शर्माले राजनीतिक जीवनको उपयुक्त चरणमा त्याग गर्न सक्दा नेताको व्यक्तित्व र राजनीतिक उचाइ अझ बढ्ने बताए।
यस सन्दर्भमा उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको उदाहरण प्रस्तुत गरे। संविधान निर्माणपछि कोइरालाले अभिभावकीय भूमिकामा रहेर सक्रिय राजनीतिक जीवनबाट सम्मानजनक बिदाइ लिन सकेको भए उनको राजनीतिक उचाइ अझ बढ्ने शर्माको भनाइ थियो।
‘देउवाले पनि अब त्यस्तै अभिभावकीय भूमिका निर्वाह गर्ने चरणमा आफूलाई लैजानुपर्छ,’ शर्माले बैठकमा भने।
उनले देउवा निकट तथा असहमत दुवै पक्षले उनलाई सही राजनीतिक सल्लाह दिन नसकेको टिप्पणी गरे। सानेपामा बसेर देउवाका विषयमा छलफल गर्ने नेताहरू उनका विरोधी नभई राजनीतिक जीवनका सहकर्मी भएको उनले स्पष्ट पारे।
शर्माले देउवा नेतृत्वका विभिन्न राजनीतिक उपलब्धिको समेत स्मरण गरे। कमैया मुक्ति, सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारमा जोड्ने प्रयास तथा दलित आयोग र महिला आयोगजस्ता संरचना स्थापनामा देउवाको योगदान रहेको उनले बताए।
तर अब पुनः प्रधानमन्त्री बन्ने आकांक्षाले देउवाको लामो राजनीतिक योगदानसमेत ओझेलमा पर्न सक्ने शर्माको चेतावनी थियो।
शीर्ष नेताहरूले सम्मानजनक ढंगले अभिभावकीय भूमिका ग्रहण गर्नुपर्नेमा जोड दिँदै शर्माले पुरानो नेतृत्व निरन्तर सत्तामा दोहोरिइरहँदा कांग्रेसभित्र ‘म्युजिकल चेयर’ जस्तो अवस्था देखिएको टिप्पणी गरे।
उनले नेतृत्व परिवर्तन र राजनीतिक जिम्मेवारी हस्तान्तरणको विषयलाई स्वाभाविक प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार











प्रतिक्रिया