काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्र बढ्दै गएको गुटगत असन्तुष्टि अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेकी छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले व्यक्तिगत आकांक्षा र गुटगत स्वार्थभन्दा पार्टी तथा राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
उनले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पदको प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिइन्। अहिलेको आवश्यकता नेतृत्वबीच टकराव बढाउने नभई कांग्रेसलाई थप सुदृढ बनाउने रहेको उनको भनाइ थियो।
इतर पक्षका नेताहरूलाई समेत अहंकार त्यागेर पार्टीको मूल प्रवाहमा समाहित हुन आग्रह गर्दै कोइरालाले आन्तरिक विवाद र गुटगत संघर्षले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिइन्।
उनले सभापति गगनकुमार थापाको नेतृत्वशैलीको समेत प्रशंसा गरिन्। थापा सभापति बनेको सुरुवाती चरणमा पार्टी कसरी अघि बढ्ला भन्ने आफूलाई चिन्ता लागेको भए पनि पछिल्लो समय उनको कार्यक्षमता र व्यवहारबाट नेतृत्वप्रति विश्वास बढेको उनले बताइन्।
थापाको नेतृत्वपछि कांग्रेसप्रति युवा पुस्ताको आकर्षण बढेको दाबी गर्दै कोइरालाले आगामी निर्वाचनमा पार्टीले बलियो जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।
आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले कांग्रेस बलियो भएका बेला पार्टीमाथि विभिन्न चुनौती र षड्यन्त्र आउने गरेको बताइन्।
वर्तमान चुनौतीको सामना गर्न कांग्रेसभित्र एकता, सहकार्य र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले सबै नेता तथा कार्यकर्तालाई वैधानिक नेतृत्वको पक्षमा उभिन आग्रह गरिन्।
व्यक्तिगत पद, प्रतिष्ठा र गुटगत स्वार्थभन्दा पार्टीको भविष्यलाई प्राथमिकता दिन सके कांग्रेसलाई अझ सशक्त, जुझारु र जनप्रिय बनाउन सकिने उनको भनाइ थियो।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया