काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवा नै नेपाली कांग्रेसको वास्तविक नेता तथा सभापति भएको दाबी गरेका छन्।

काठमाडौँमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सभापतिको हैसियतमा सम्बोधन गर्दै कोइरालाले देउवाको नेतृत्व र उपस्थितिमै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन सकिने बताए।

उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला र शेरबहादुर देउवाबीचको पुरानो सम्बन्ध स्मरण गर्दै देउवासँग आफ्नो पहिलो भेटको प्रसंगसमेत सुनाए।

कोइरालाका अनुसार बीपीले देउवालाई ‘पश्चिमको राजकुमार’ भनेर सम्बोधन गर्ने गर्थे। देउवा भारत पुगेका बेला बीपीले आफूलाई उनलाई घुमाउन भनेको स्मरण गर्दै उनले त्यही क्रममा देउवासँग आफ्नो पहिलो परिचय भएको बताए।

‘बीपी कोइरालाले शेरबहादुर देउवालाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँ भारतमा गएको बेलामा मलाई बाबा (बीपी कोइराला) ले घुमाउन अह्राउनुभएको थियो। बाबाको आदेशअनुसार उहाँलाई घुमाउने काम गरेको थिएँ। शेरबहादुरजीसँग मेरो पहिलो परिचय त्यहीँ भएको हो।’

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति असहमति जनाउँदै आएको कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको भेलामा कोइरालाले देउवाको नेतृत्वलाई नै अपरिहार्य भएको दाबी गरे।

‘शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ। शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ उनले स्पष्ट रूपमा भने।

राष्ट्रिय भेलाको प्रमुख उद्देश्य कांग्रेसलाई थप एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै कोइरालाले पार्टीभित्रका स–साना मतभेद बिर्सिएर देउवाको नेतृत्वमा गोलबन्द हुन नेता–कार्यकर्तालाई आग्रह गरे।

देउवालाई आधिकारिक सभापतिका रूपमा प्रस्तुत गर्दै कोइरालाले गरेको घोषणाले कांग्रेसभित्र जारी नेतृत्व विवाद र शक्ति संघर्षलाई थप पेचिलो बनाएको छ। देउवाको स्वदेश फिर्तीपछि आयोजित भेलामा उनको पक्षमा खुलेर गरिएको यो दाबीले सहभागी नेता–कार्यकर्तामाझ उत्साह थपेको देखिएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com