काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी अहिले गम्भीर आन्तरिक संकटमा रहेको बताएका छन्। उनले कांग्रेस मानसिक रूपमा विभाजित भइसकेको र संगठनात्मक रूपमा समेत विभाजनको जोखिम बढेको दाबी गरेका छन्।
काठमाडौँमा आयोजित कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले नेतृत्व हस्तान्तरणका नाममा अपनाइएको अप्राकृतिक प्रक्रियाले पार्टीलाई थप कमजोर बनाएको टिप्पणी गरे।
‘कांग्रेस अहिले मानसिक रूपमा विभाजित अवस्थामा पुगेको छ र संगठनात्मक रूपबाट पनि विभाजनतिर जाने सम्भावना छ,’ उनले भने।
निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश आगमनले पार्टीभित्रको दूरी घटाउँदै एकताको वातावरण निर्माण गर्ने विश्वास लेखकले व्यक्त गरे।
लेखकले कांग्रेसको वर्तमान अवस्थालाई बुझाउन रोचक उदाहरणसमेत प्रस्तुत गरे। उनले स्वाभाविक प्रक्रियाबाट हुनुपर्ने नेतृत्व हस्तान्तरणलाई बलपूर्वक गरिएको शल्यक्रियासँग तुलना गरे।
‘स्वाभाविक रूपमा सन्तान जन्माउने आमालाई बलजफ्ती शल्यक्रिया गरेर सन्तान जन्माएकाले अहिलेको अवस्था आएको हो,’ उनले भने, ‘यसले गर्दा अहिले कांग्रेसमा सन्तान पनि सबल भएको छैन र आमाले पनि दुःख पाएकी छन्।’
उनको संकेत विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनतर्फ थियो। उक्त प्रक्रियाले पार्टीभित्रको विवाद समाधान गर्नुको साटो थप समस्या सिर्जना गरेको लेखकको भनाइ थियो।
आफूले पनि विगतमा पार्टी एकताका लागि निरन्तर प्रयास गरेको तर सफल हुन नसकेको उनले स्वीकार गरे।
नेतृत्व हस्तान्तरणको विषयमा लेखकले देउवाले आफू अब सभापतिको प्रतिस्पर्धामा नउत्रिने घोषणा गरिसकेको स्मरण गराए।
वैधानिक प्रक्रियालाई निरन्तरता दिँदै १५औँ महाधिवेशनसम्म पर्खिएको भए नेतृत्व परिवर्तन स्वाभाविक रूपमा हुने उनको तर्क थियो।
‘यदि वैधानिक प्रक्रियालाई पर्खिएको भए १५औँ महाधिवेशनमा उहाँ सभापति बन्न पाउनुहुने थिएन, तर बीचमै गरिएको यो अभ्यासले पार्टीलाई कमजोर बनायो,’ लेखकले भने।
उनले नेतृत्व परिवर्तनभन्दा पनि त्यसका लागि अपनाइएको प्रक्रिया महत्वपूर्ण हुने उल्लेख गर्दै कांग्रेसको वर्तमान संकट समाधानका लागि सबै पक्ष संयमित भएर संवाद र एकताको बाटोमा फर्कनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया