काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापालाई आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्दै आए पनि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्।
कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापा ५२ वर्ष पार गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म ५५ वर्ष पुग्ने भएकाले उनले सार्वजनिक रूपमा व्यक्त गर्दै आएको प्रतिबद्धताअनुसार राजनीतिबाट पछि हटेर युवालाई नेतृत्वको अवसर दिनुपर्ने बताए।
‘युवा–युवा भनेर पटक–पटक बोलिरहनुभएको छ। उहाँ ५२ वर्ष पार गरिसक्नुभएको छ। ५५ वर्ष पुगेपछि राजनीति छोड्छु भन्नुभएको छ,’ बस्नेतले भने, ‘नियमित प्रक्रियाअनुसार तीन वर्षमा निर्वाचन भयो भने आगामी चुनावमा उहाँ ५५ वर्ष पार गरिसक्नुहुन्छ। आफूले बोलेको कुरा पूरा गर्नुहुन्छ भने युवालाई मौका दिनुस्।’
बस्नेतले कांग्रेसलाई पुनः सशक्त बनाउन पार्टीभित्र बृहत् एकता अपरिहार्य रहेको बताए। कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले वडा तहदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभासम्म पार्टीलाई बहुमतको अवस्थामा पुर्याउने लक्ष्यका साथ अघि बढ्नुपर्ने धारणा राखे।
उनले कांग्रेसभित्रको बृहत् एकताको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुपर्ने बताए। सबै नेताहरू एक ठाउँमा उभिएर कांग्रेसलाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘अरू सबै नेताहरू एकीकृत भएर कांग्रेसलाई शीर्ष स्थानमा पुर्याउनुपर्छ र मुलुकलाई निकास दिनुपर्छ,’ बस्नेतले भने।
आफू लामो समयसम्म चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताउँदै बस्नेतले आफूभन्दा कम उमेरका नेताहरूसँग समेत प्रतिस्पर्धा गर्न आफूलाई कुनै समस्या नरहेको दाबी गरे।
सिन्धुपाल्चोकमा कांग्रेसलाई बलियो बनाउन आफूले भूमिका खेलेको उल्लेख गर्दै उनले आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्य क्षेत्रमा गएर चुनाव लड्नुपर्ने अवस्था नरहेको बताए।
थापालाई लक्षित गर्दै उनले राजनीतिबाट पछि हट्ने घोषणा गरेर नयाँ पुस्तालाई अवसर दिन चुनौतीसमेत दिए।
‘तपाईं अब म राजनीति गर्दिनँ, युवाहरूलाई जिम्मा लगाउँछु भनेर भन्नुस्। तपाईं नलड्नुहोस्, म पनि चुनाव लड्दिनँ। युवाहरूलाई जिम्मा लगाऔँ,’ बस्नेतले भने।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया