काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गरेको टिप्पणीलाई लिएर विवाद चर्किरहेका बेला रास्वपा सांसद आशिका तामाङ सुनारको पक्षमा उभिएकी छन्।
सांसद तामाङले भ्रष्टाचारसम्बन्धी विषयमा प्रश्न उठाउन र छानबिनको माग गर्न कसैसँग अनुमति लिनु नपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रकमको हिसाब माग्नु जनप्रतिनिधिको अधिकार भएको उल्लेख गरेकी हुन्।
गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल भएको थियो। त्यस क्रममा सांसद सुनारले आईजीपी कार्कीमाथि समेत प्रश्न उठाउँदै तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए।
सुनारको प्रस्तुतिप्रति गृहमन्त्री सुधन गुरुङले शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा असन्तुष्टि जनाएका थिए। आरोप वा उजुरीकै आधारमा कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै उनले संसदीय समितिमा प्रहरी नेतृत्वमाथि गरिएको व्यवहारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका थिए।
गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि सांसद तामाङले सुनारको बचाउ गर्दै भ्रष्टाचारसम्बन्धी विषय उठाउनु नै मुख्य कुरा भएको जिकिर गरेकी छन्।
‘भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि अनुमति चाहिने हो ? माननीय खगेन्द्र सुनारज्यूले संसदीय समितिमा करोडौँको भ्रष्टाचारको विषय उठेपछि यो के हो ? कसरी भयो ? भनेर प्रश्न गर्नुभएको हो,’ उनले लेखेकी छन्।
उनले सांसदले प्रश्न गर्दा प्रयोग गरेको भाषा वा शैलीभन्दा उठाइएको विषयको गम्भीरतामाथि बहस हुनुपर्ने बताएकी छन्। भ्रष्टाचारसम्बन्धी उजुरी परेको हो कि होइन, अनियमितता भएको हो कि होइन र त्यसबारे छानबिन भएको छ कि छैन भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ।
‘उहाँले कुन टोनमा बोल्नुभयो, कुन शब्द प्रयोग गर्नुभयो भनेर डिबेट अर्कोतिर नलैजानुस्। मुद्दा भ्रष्टाचार हो,’ तामाङले भनेकी छन्, ‘करोडौँको भ्रष्टाचार भएको हो कि होइन ? उजुरी परेको हो कि होइन ? छानबिन भयो कि भएन ? मात्र जवाफ दिनुहोस्।’
संसदीय समितिमा सांसदहरूले सरकार र सार्वजनिक निकायसँग जवाफ माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले निर्वाचित जनप्रतिनिधिले सार्वजनिक स्रोत–साधनको प्रयोगबारे प्रश्न गर्न पाउनुपर्ने बताएकी छन्।
संसदीय बहसमा चर्को स्वरमा प्रश्न उठाउँदैमा सांसदको मर्यादामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति समेत उनले असन्तुष्टि जनाएकी छन्। अमेरिका, बेलायत र जर्मनीलगायतका देशका संसद्मा सांसदहरूले निर्भीक रूपमा सरकार र सम्बन्धित निकायमाथि प्रश्न उठाउने अभ्यास रहेको उदाहरण दिँदै उनले नेपालमा पनि मुख्य विषयबाट बहस अन्यत्र मोड्न नहुने बताएकी छन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया