काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूहरूमाथि गरेको व्यवहारबारे सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराएका छन्।

शुक्रबार सिंहदरबार पुगेर आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गर्दै समितिको बैठकमा भएको घटनाबारे गुनासो गरेका हुन्।

सभामुखसँगको भेटमा कार्कीले सांसद सुनारको प्रस्तुतिले आफू मात्र नभई नेपाल प्रहरीको समग्र संस्थाकै मानमर्दन भएको बताएका थिए। बैठकमा भएको व्यवहारका कारण संगठनले नै अपमानित महसुस गरेको उनको भनाइ थियो।

जवाफमा सभामुख अर्यालले घटनाबारे आफूले सार्वजनिक लेखा समितिका सभापति र सचिव तथा संसद्का महासचिवसँग जानकारी लिइसकेको बताएका थिए। घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभामुखले प्रहरी प्रमुखलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए।

सभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्नुहोला । हामी साथ छौँ।’

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद सुनारले म्यादी प्रहरी तथा प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए।

सुनारले अनियमिततासम्बन्धी प्रश्न उठाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र आईजीपी कार्कीमाथि समेत प्रश्न गरेका थिए। उनले आईजीपीमाथि गम्भीर प्रश्न उठिसकेको भन्दै पदबाट अलग गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।

सांसद सुनारको प्रस्तुतिलाई लिएर गृहमन्त्री सुधन गुरुङले समेत असन्तुष्टि जनाइसकेका छन्। शुक्रबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले आरोप वा उजुरीकै आधारमा कसैको चरित्र हत्या गर्न नमिल्ने बताएका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com