काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो चरित्र र व्यक्तिगत प्रतिष्ठालाई लक्षित गरी टिप्पणी तथा सामग्रीहरू बढेको भन्दै उपसभामुख रुविकुमारी ठाकुरले गृहमन्त्री सुधन गुरुङसँग सहयोग मागेकी छन्।
जनआस्था साप्ताहिकका सञ्चालक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि सामाजिक सञ्जालबाट आफूलाई मानसिक पीडा दिने काम बढिरहेको भन्दै फोन नै गरेर गृहमन्त्रीलाई आफूलाई बचाउन भनेकी हुन्।
उपसभामुखनिकट स्रोतका अनुसार उनले गृहमन्त्रीलाई फोन गर्दै आफू मानसिक रूपमा निकै दबाबमा रहेको बताएकी थिइन्। उनले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालमा लक्षित गरी भइरहेको गतिविधिबाट सुरक्षा तथा संरक्षणको अपेक्षा राखेको स्रोतको भनाइ छ।
केही दिनअघि जनआस्था पत्रिकाले उपसभामुख रुविकुमारीको तस्बिरसहित ‘सुध्रिनुस् म्याडम, अझै समय छ’ शीर्षकमा सामग्री प्रकाशित गरेको थियो। उक्त सामग्रीले आफ्नो तथा परिवारको प्रतिष्ठामा असर पारेको र मानसिक तनाव सिर्जना गरेको उपसभामुखले गृहमन्त्रीसमक्ष गुनासो गरेकी थिइन्।
उक्त सामग्रीलाई लिएर उपसभामुखले प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएकी छन्। उजुरीमा समाचारमा तथ्य, प्रमाण र विश्वसनीय स्रोतबिनै भ्रामक तथा आधारहीन विषयवस्तु प्रकाशित गरी आफ्नो पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा आँच पुर्याइएको दाबी गरिएको छ।
सार्वजनिक पदमा रहेकाको प्रतिष्ठा र व्यक्तिगत मर्यादामा असर पार्ने सामग्री प्रकाशन गर्दा पत्रकारिता आचारसंहिता र प्रचलित कानुनको पालना हुनुपर्ने उल्लेख गर्दै उनले प्रकाशित सामग्रीमा उल्लेखित आरोप तथा दाबीको स्रोत र प्रमाणबारे निष्पक्ष छानबिन गर्न प्रेस काउन्सिलसँग माग गरेकी छन्।
उनले जनआस्था डटकम, सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठसहित सामग्री प्रकाशनमा संलग्न जिम्मेवार व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्नसमेत माग गरेकी छन्।
यसैबीच, पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँले बिहीबार उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
सप्तरी–३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएपछि त्यसमा आफ्नो गोपनीयता र प्रतिष्ठामा असर परेको दाबी गर्दै एक युवतीले प्रहरीमा जाहेरी दिएको आधारमा श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया